‘परिबन्ध’ सार्वजनिक, प्रेम र जिम्मेवारीको द्वन्द्वको कथा


काठमाडौं । गायक सुरेन गौतमको स्वर, शब्द र संगीतकार कल्याण सिंहको संगीतमा तयार भएको नयाँ गीत ‘परिबन्ध’ सार्वजनिक गरिएको छ। मर्मस्पर्शी भावभूमिमा आधारित यस गीतको भिडियोले प्रेम र जिम्मेवारीबीचको संवेदनशील द्वन्द्वलाई उजागर गर्ने प्रयास गरेको छ।

सकु शाह र लोमस शर्मा फिचर्ड भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन्। भिडियोको कथा विद्यालय जीवनदेखि सुरु हुने देव र काव्या नामक दुई पात्रको प्रेम यात्रामा केन्द्रित छ। प्रारम्भमा एकअर्काप्रतिको गहिरो प्रेम बाँड्ने उनीहरू भविष्यका सुनौला सपना देख्छन्। तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्लाबेग्लै बाटो लाग्न बाध्य बनाउँछ।

काव्या आर्थिक अभावका कारण विदेशिन चाहन्छे भने देव आफ्नी बिरामी आमाको सेवामा समर्पित हुन्छ। सूचना र सम्पर्कविना बढ्दै गएको दूरी अन्ततः बिछोडमा परिणत हुन्छ।

वर्षौंपछि नेपालमै एक ध्यानस्थ स्थलमा उनीहरू आकस्मिक रूपमा भेटिन्छन्। मौनता र भावुक दृष्टिबाट संवाद हुने उक्त भेटपछिको दृश्यले दर्शकलाई भावनात्मक बनाउँछ। अन्ततः उनीहरू विगतको सम्झनासहित आ–आफ्नो बाटो लाग्छन्।

गीतले दिन खोजेको सन्देश स्पष्ट छ— प्रेमको अन्त्य सधैं माया नहुँदा मात्र होइन, कहिलेकाहीँ जिम्मेवारीको भारले पनि बाटो छुट्याउँछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.