जीवनको यथार्थ नजिकको कथा बोकेको ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा


काठमाण्डौ । जीवनको कटु यथार्थलाई समेट्दै निर्माण गरिएको फिल्म ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको यस चलचित्रले जीवनको उत्तरार्धमा महसुस हुने खालीपन, एक्लोपन र अस्तित्वको सत्यतालाई दर्शाउने प्रयास गरेको छ।

फिल्मको टिजरमा समेटिएका यी हरफ: “पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैं पाहुना, भोलि घर फर्किनु छ। तेरो–मेरो के कुरा, के घर, के डेरा…” ले गहिरो जीवनदर्शन प्रस्तुत गरेका छन्। यिनै हरफहरूले चलचित्रको भावनात्मक पृष्ठभूमिलाई उजागर गर्छन्।

साहित्यकार बुद्धिसागरद्वारा लेखिएको यो पहिलो फिल्मी कथा हो। ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’ र ‘एक्लो’ जस्ता चर्चित उपन्यासमार्फत चर्चामा आएका बुद्धिसागरले चलचित्र लेखनमा डेब्यु गरेका छन्।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका छन्।

निर्देशक खनालका अनुसार, “सिनेमा सधैं जीवनको नजिक हुनुपर्छ भन्ने विश्वासका साथ यो चलचित्र बनाइएको हो। यसले आम दर्शकको भावना र जीवनको यथार्थसँग कनेक्ट गर्नेछ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.