काठमाडौं । भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’ को काठमाडौंमा ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित कार्यक्रममा चलचित्र टोली, सञ्चारकर्मी, शुभेच्छुक र फिल्मकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
मिथिकल सस्पेन्स थ्रिलर जनरामा बनेको यो चलचित्रको प्रिमियरमा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमजस्ता प्रमुख कलाकारहरू सहभागी थिए। प्रिमियरका लागि विशेष रूपमा भारतबाट निर्देशक अनुराग प्रधान काठमाडौं आइपुगेका थिए भने सह-निर्देशक आस्था श्रेष्ठसहित निर्माण टोली पनि उपस्थित थियो।
प्रिमियरमा बोल्दै निर्देशक प्रधानले बलिउडमा प्राप्त अनुभवलाई नेपाली फिल्ममा उतार्ने प्रयास गरेको बताए। अभिनेत्री सुरक्षा पन्तले चलचित्र युवाको सच्चा भावना समेटिएको भन्दै सफल हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार चलचित्रले प्रिमियरमै राम्रो प्रतिक्रिया पाएको छ।
‘खेल’को कथा, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, रंग संयोजन र चलचित्रको समग्र टोनले हलिउडस्तरको अनुभूति दिने प्रतिक्रिया पाइएको छ। प्रिमियरमा नयाँ कलाकारहरूको अभिनयको पनि प्रशंसा भयो। नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको प्रतिक्रिया आएको छ।
चलचित्रमा मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठजस्ता अनुभवी कलाकारहरूको पनि अभिनय रहेको छ। ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्। सिरुपाते कट्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्मातामा कुणालराज गुरुङ र रहिशराज महर्जन छन्।
कथावस्तु आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्। छायाङ्कन रोशन राई र सञ्जय लामाले, सम्पादन आशिषराज महर्जनले, रङ्ग संयोजन राजेन्द्र मोक्तानले र ध्वनि डिजाइन विकल प्रधानले गरेका छन्। चलचित्रको प्रचार–प्रसार ट्राइडेन्ट कन्सेप्टले गरेको छ भने वितरणको जिम्मा डिसिएनले लिएको छ।