‘झिल्को’को ट्रेलर सार्वजनिक : स्मार्टफोनको लतले निम्त्याउने पीडा


काठमाडौ। डिजिटल युगमा प्रविधिको गलत प्रयोगले बालबालिकाको जीवनमा पार्ने गम्भीर असरमाथि केन्द्रित नेपाली चलचित्र ‘झिल्को’ को ट्रेलर सार्वजनिक भएको छ। वैशाख १९ गते प्रदर्शनमा आउन लागेको फिल्मले परिवार, स्वास्थ्य र सम्बन्धमाथिको प्रविधिको प्रभावलाई गहिरो संवेदनशीलताका साथ उठाएको छ।

ट्रेलरको सुरुआत विद्यालयमा मोबाइल बोकेर गएकी बालिकालाई शिक्षकले गाली गरेको दृश्यबाट हुन्छ। त्यसपछि एकपछि अर्को गरी देखाइएका दृश्यहरूमा स्मार्टफोनको लतले बालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा पारेको असर, अस्पतालसम्म पुग्ने अवस्था, र सन्तान–अभिभावकबीचको दूरी गहिरिँदै गएको चित्रण पाइन्छ।

बालिकाको भूमिकामा देखिएकी आयुषी ढकालको अभिनय सशक्त देखिएको छ। साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनयले कथामा गहिराइ थपेको छ।

निर्देशक यादवकुमार भट्टराई भन्छन्, “झिल्को केवल फिल्म होइन, यो आजको समाजको ऐना हो। यसले प्रविधिको अति प्रयोगबाट सिर्जना हुने गम्भीर संकटबारे चेतना जगाउने प्रयास गर्छ।” ‘झोला’ जस्तो चर्चित सामाजिक फिल्म निर्देशन गरिसकेका भट्टराईका अनुसार, यो फिल्म अभिभावक, शिक्षक, नीतिनिर्माता र बालबालिकाबीचको समन्वयको आवश्यकता बोध गराउने माध्यम हो।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण भएको ‘झिल्को’ मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउन्ड मिक्सिङ, र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। कथासहितको पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्।

चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।