हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’को प्रिमियर सम्पन्न


काठमाडौं। अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’को भव्य प्रिमियर मंगलबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा सम्पन्न भएको छ।

प्रिमियरमा विभिन्न राजनीतिक दलका नेता, कलाकार, पत्रकार, सम्पादक, समाजसेवी लगायत विविध क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। चलचित्र हेरेका अधिकांश दर्शकले ‘भूठान’ले नेपाली सिनेमा एक नयाँ स्तरमा पुर्याएको प्रतिक्रिया दिएका छन्।

निर्देशक विनोद पौडेलले भुटानी शरणार्थीको पीडा, देशप्रेम र पहिचान गुमाउनुको कथा मार्मिक ढंगले प्रस्तुत गरेका छन्। हरिवंश आचार्यलाई गम्भीर भूमिकामा प्रस्तुत गरिएको यो पहिलो फिल्म हो। दर्शकले उनको अभिनयलाई ‘रियलिस्टिक’ भन्दै प्रशंसा गरेका छन्।

प्रिमियरमा दर्शकहरूले फिल्मको कथा, निर्देशन, अभिनय, छायांकन, संगीत, सम्पादन र प्रस्तुतिलाई उच्च मूल्यांकन गरेका थिए। कतिपयले यो फिल्मले विश्वभर आफ्ना देश गुमाएका मानिसहरूको प्रतिनिधित्व गरेको बताएका छन्।

‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाममा अंग्रेजी संस्करणसमेत रहेको चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल लगायतको अभिनय छ। हलिउड अभिनेता ब्रुस डर्नको पनि विशेष भूमिका छ।

साग अफट्राको ब्यानरमा बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन्। सम्पूर्ण छायांकन अमेरिकामै गरिएको फिल्म यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

चलचित्र ‘भूठान’का निर्माता अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा हुन्। कार्यकारी निर्माता विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.