अशोक थापा मगरको निर्देशनमा नयाँ चलचित्र ‘जलाकी’, धिरज मगरको प्रवेश


काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको नयाँ चलचित्र जलाकीमा अभिनेता धिरज मगरको प्रवेश भएको छ। यससँगै निर्देशक थापा र अभिनेता मगरबीच दोस्रोपटक सहकार्य हुन लागेको हो। उनीहरूले यसअघि हिट चलचित्र खुस्मामा सँगै काम गरेका थिए।

जलाकीको छायांकन बागलुङको कालिका मन्दिरबाट सुरु गरिएको हो। निर्माण टिमका अनुसार पहिलो चरणको छायांकन हालै सम्पन्न भएको छ भने धिरज मगर दोस्रो चरणको छायांकन सुरु भएपछि टिममा सहभागी हुनेछन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र जलाकीमा धिरजसँगै सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिनेछन्। मोडल आकृति राजभण्डारीको यो डेब्यु चलचित्र हो।

मगर समुदायमा जलाकी सम्झना र मायाको प्रतीकका रूपमा लिइने ढुंगाको स्तम्भ हो, जसलाई श्रद्धाका साथ पूजा गरिन्छ।

चलचित्रको छायांकन तीन चरणमा हुनेछ, जसका लागि रुकुम, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियाका विभिन्न स्थान छनोट गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई पर्दामा उतार्ने उद्देश्य लिएको छ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ।

छायांकन निर्देशक (डिओपी) शैलेन्द्र डी. काकी, लाइन प्रोड्युसर राजु रेग्मी मगर, मुख्य सहायक निर्देशक महेश बराल रहेका छन्। संगीत एसडी योगी र सरित राईले गरेका छन् भने गीत रचना सुरेन्द्र राना र राम अविरल विष्टको रहेको छ।

निर्देशक थापाको डेब्यु चलचित्र खुस्मामा समावेश गीत रुकुम मैकोट युट्युबमा पाँच महिनामै दश करोड भ्युज पार गर्दै ऐतिहासिक कीर्तिमान बनाएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.