‘महाभोज’को टिजर सार्वजनिक, सामाजिक यथार्थ र पारिवारिक द्वन्द्वको कथावस्तु


काठमाडौ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिलिज हुने नेपाली फिल्म ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक तथा सामाजिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको छ।

टिजरको सुरुवात अभिनेता खगेन्द्र लामिछाने र दयाहाङ राईको संवादबाट हुन्छ— “गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ।” यस संवादले चलचित्र केवल बाह्य हिंसामा सीमित नरही, सामाजिक अन्याय, आर्थिक असमानता, तथा संरचनागत दवाबजस्ता गम्भीर विषयमा केन्द्रित रहेको संकेत गर्छ।

दयाहाङ राईलाई सहकारी संस्थाको अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ। कहिले खुसी, कहिले आक्रोशित रूपमा देखिने उनको पात्र कथामा उत्पन्न हुने मानसिक र भावनात्मक उतारचढावको प्रतिक जस्तो लाग्छ। एक दृश्यमा खुकुरी बोकेर कसैको घर प्रवेश गर्ने दृश्य तथा अर्कोमा मोटरसाइकल जलिरहेको देखिँदा चलचित्र तनावपूर्ण मोडमा प्रवेश गरेको झल्किन्छ।

गौमाया गुरुङ राईकी पत्नीको भूमिकामा देखिएकी छन्, जो पतिको आक्रोश नियन्त्रण गर्न खोजिरहेकी हुन्छिन्। खगेन्द्र लामिछाने र अञ्जना बराइली पति-पत्नीको भूमिकामा छन्, जसको जीवन पैसाको अभावले बिथोलिएको छ। अभिनेत्री मलिका महत प्रहरीसँग आफू निर्दोष भएको बयान दिँदै रहस्यमय भूमिकामा प्रस्तुत भएकी छन्।

आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा देखिएका छन्, जसले फिल्मको कथा राजनीतिक तहसम्म विस्तार गरेको छ। टिजरको अन्त्यमा देखिएको “सत्य कहिल्यै लुक्दैन” भन्ने वाक्यले कथाले सत्यको खोजीमा केन्द्रित रहने संकेत गर्छ।

महाभोज लाई दिनेश राउतले निर्देशन गरेका हुन्। निर्माता हिमाल कडरिया रहेको चलचित्र क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो। कथाकार विकास सुवेदीले पटकथा लेखेका छन्।

निर्देशक राउतका अनुसार, फिल्म पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्रण हो, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानका लागि संघर्षरत छन्।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय रहेको छ।

निर्माण पक्षका अनुसार ‘महाभोज’ नेपालसँगै नेपालीहरूको बसोबास रहेका विभिन्न देशमा एकैसाथ प्रदर्शनमा ल्याइनेछ।

 

Copyright © 2012 - 2026 | All Right Reserved.