‘जार’ : समाजको ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास


काठमाडौं । नेपाली फिल्म ‘जार’ ले नेपाली समाजको एक यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माणपक्षको दाबी छ। वैशाख २६ मा प्रदर्शनको तयारीमा रहेको फिल्मले विषयवस्तु, प्रस्तुति र प्रविधिका हिसाबले नेपाली सिनेमा अघि बढ्ने अपेक्षा गरिएको छ।

निर्देशक फूर्वा छिरिङ लामाले फिल्मलाई समाजको साझा कथा भन्न रुचाउँछन्। ‘हामीले नेपाली समाजले भोगेको गहिरो विषय उठाएका छौं,’ उनले भने, ‘त्यही भएर यो हरेकको कथा लाग्छ।’

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्ममा सन् १८०० को दशकमा घटेको यथार्थ घटना समेटिएको छ। लामाका अनुसार कथालाई सिनेमा बनाउँदा केही रचनात्मक स्वतन्त्रता (सिनेम्याटिक लिबर्टी) लिइएको छ। ‘कथा जति राम्रो छ, सिनेमा भिजुअल हिसाबले अझ सशक्त हुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

फिल्मको पोस्ट प्रोडक्सनको केही काम भारतमा गरिएको छ। निर्देशक लामाका अनुसार प्राविधिक पक्षमा कुनै सम्झौता नगरिने अडानका साथ निर्माण गरिएको हो। ‘कुनै पक्ष कमजोर नहोस् भनेर सुरु देखिनै ध्यानपूर्वक काम गरेका छौँ,’ उनले भने।

कलाकारको छनोट पनि कथा अनुसार गरिएको बताइएको छ। ‘बजारमा को लोकप्रिय छ भन्दा पनि कथाले जे माग्छ, त्यस अनुसार कलाकार छानिएको हो,’ लामा भन्छन्।

‘जार’ मा सौगात मल्ल, अनुपविक्रम शाही र राष्ट्रिय पुरस्कार विजेता भारतीय अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ। थापा ‘लायर्स डाइस’ बाट चर्चामा आएकी अभिनेत्री हुन्।

फिल्मको छायांकन सिक्किममा गरिएको हो। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। छायांकन सरवानन इलावार्सुले गरेका हुन् भने सम्पादन अखिलेश राईको रहेको छ। संगीत झुमा लिम्बु र गंगा थापाको छ।

नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकैपटक प्रदर्शनमा ल्याइने फिल्मको नेपाल वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा भने सेभेन सिज सिनेमा वितरक हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.