‘महाभोज’ जेठ १५ मा रिलिज हुने, दुई पोस्टर सार्वजनिक


काठमाडौं। सामाजिक यथार्थमा आधारित नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ मा प्रदर्शन हुने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारी भइरहेको चलचित्रको दुई पोस्टर आइतबार सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको एक पोस्टरमा चलचित्रका मुख्य ६ कलाकार — आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा देखाइएको पैसा र पात्रहरूको भावभंगिमाले चलचित्रमा राजनीतिक र सामाजिक सन्देश रहेको संकेत गर्छ।

दोस्रो पोस्टर ग्रामीण परिवेशमा आधारित छ। यसमा मुख्य कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल पनि देखिएका छन्। दुवै पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

पोस्टर सार्वजनिक गर्दै निर्देशक दिनेश राउतले वैशाख ९ गते चलचित्रको टिजर सार्वजनिक गरिने जानकारी दिएका छन्। “समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई चलचित्रमार्फत उजागर गर्ने प्रयास गरिएको छ,” निर्देशक राउतले भने।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण हिमाल कडरियाले गरेका हुन्। कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्।

निर्माण पक्षका अनुसार चलचित्र नेपालसँगै नेपालीहरू बसोबास गर्ने विभिन्न देशहरूमा एकैसाथ प्रदर्शनमा ल्याइनेछ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय रहने चलचित्र ‘महाभोज’ मा सामाजिक वर्ग संघर्ष र समसामयिक विषयवस्तु प्रस्तुत गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.