‘अच्छा लेकिन’ को नयाँ संस्करण युट्युबमा ट्रेन्डिङ


काठमाडौं। ‘नरसिंहा अवतारु’ फिल्मका लागि पुनः रेकर्ड गरिएको गीत ‘अच्छा लेकिन’ युट्युबमा लोकप्रिय बन्दै गएको छ। सार्वजनिक भएको दुई दिनमै गीतले १ मिलियन (१० लाख) भ्यूज पाएको छ। संगीत विधामा अहिले गीत छैटौँ स्थानमा ट्रेन्डिङमा रहेको छ।

गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। नयाँ संस्करणमा भने बास्कोटासँग गायिका रचना रिमालले स्वर दिएकी छन्। गीतको शब्द र संगीत दुवै बास्कोटाकै हुन्।गीतको भिडियोमा अभिनेता राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, तथा बाल कलाकार एभेलिना खड्का र समाइरा थापा फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफीमा बनेको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् भने सम्पादन साहिल खानले गरेका छन्।

गीतले युट्युब मात्र नभई टिकटकलगायत सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया पाइरहेको छ। प्रयोगकर्ताहरूले गीतमा आधारित भिडियो तथा रिल्सहरू निर्माण गरिरहेका छन्।‘नरसिंहा अवतारु’ फिल्म आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ। एक्सन ड्रामा श्रेणीमा तयार फिल्ममा चन्द्र पन्तको कथा, दिवाकर भट्टराइको लेखन तथा निर्देशन, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको छायांकन, समीर मियाको भिएफएक्स, र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।

फिल्म क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको हो। नेम महर्जन मुख्य लगानीकर्ता हुन् भने दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने सह-लगानीकर्ता रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.