‘मोहर’ मा फरक गेटअपमा पल शाह साउन २३ गते प्रदर्शनमा आउने


काठमाडौं । अभिनेता पल शाह अभिनीत नयाँ फिल्म ‘मोहर’ आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको पोस्टर र तस्बिर सार्वजनिक गर्दै निर्माण टिमले शाहको नयाँ अवतार दर्शकसामु ल्याएको छ।

लामो कपाल, भरुवा बन्दुक र गम्भीर हाउभाउमा देखिएका शाहलाई लिएर दर्शकमाझ कौतूहलता बढेको छ। फिल्ममा उनले अघिल्ला भूमिकाभन्दा फरक रूप निभाएको जनाइएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको फिल्म फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको हो। निर्माता चुम्बन जंग शाही हुन्।

फिल्ममा शाहसँगै बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल कलाकार सारा शर्माको अभिनय रहेको छ।

दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा दीपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत तथा प्रमोद ढुंगाना र हर्क साउदका शब्द छन्।

गिरिराज घिमिरे सह–निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

फिल्मबारे शाह भन्छन्, “यो फिल्ममा दर्शकले मलाई अलिक फरक रूपमा पाउनुहुनेछ।” तर फिल्मको मुख्य कथा भने निर्माण पक्षले गोप्य नै राखेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.