‘लाज शरणम्’ प्रदर्शनको ५१औँ दिनमा


काठमाडौँ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ ले ५१औँ दिनमा प्रवेश गरेको छ। प्रारम्भदेखि नै उच्च अकुपेन्सीमा चल्दै आएको चलचित्र हाल देशभरका १३ वटा हलमा प्रदर्शनरत छ।

जेपीटी क्रिएसनको ब्यानरमा बनेको चलचित्र काठमाडौँका प्रमुख मल्टिप्लेक्सहरूसँगै झापा, दमक र बुटवलका हलहरूमा प्रदर्शन भइरहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए। उनका अनुसार ‘लाज शरणम्’ ले पहिलो दिनमै १ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो भने हालसम्म कलेक्सन ५ करोड नाघिसकेको छ।

“५१औँ दिनमा आइपुग्दा पनि दर्शकको उत्साह घटेको छैन,” निर्माता श्रेष्ठले भने, “उपलब्ध शोहरूमा अझैपनि राम्रो अकुपेन्सी देखिएको छ।”

कर्णाली क्षेत्रको कथावस्तुमा आधारित चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापालगायत कलाकारको अभिनय छ।

चलचित्रका छायाँकार सुदीप बराल हुन् भने सहनिर्मातामा रामनरेश शाह र सिर्जना खड्का छन्। लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमद्वारा निर्माण गरिएको यो पहिलो फिचर फिल्म हो, जसको निर्देशन कुमार कट्टेलले गरेका हुन्।