नयाँ वर्षमा ‘जारी २’ को घोषणा, दशैंमा प्रदर्शन हुने


काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा बहुप्रशंसित फिल्म ‘जारी’ को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ। सोमबार सार्वजनिक गरिएको  फर्स्ट लुकमार्फत सिनेमाको औपचारिक घोषणा गरिएको हो।

फर्स्ट लुक पोस्टरमा अभिनेता दयाहाङ राईलाई परम्परागत वाद्ययन्त्र च्याब्रुङ बजाउँदै देखाइएको छ। फिल्मको टैगलाइन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ।

‘जारी २’ मा अघिल्लो भागका निर्देशक उपेन्द्र सुब्बाले नै निर्देशन र लेखन गर्नेछन्। निर्माण टिमका अनुसार सिनेमा २०८२ सालको दशैंमा सार्वजनिक प्रदर्शनमा आउनेछ।

बैशाखको तेस्रो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको फिल्ममा दयाहाङ राई , विजय बराल र मिरुना मगरसँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।

बाँसुरी फिल्मस र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता रामबाबु गुरुङ हुन्। सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा हुने जनाइएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.