‘झिल्को’मा डिजिटल कुलतको चेतावनी


काठमाडौं। बालबालिकाको हातमा मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटरजस्ता उपकरणहरू आजकल खेलौनाभन्दा कम छैनन्। प्रविधिको फाइदा त छँदैछ, तर त्यसको अनियन्त्रित प्रयोगले सानै उमेरमा शारीरिक, मानसिक र भावनात्मक असर पारिरहेको देखिन्छ।

पछिल्लो समय बालबालिकालाई चुप राख्न सजिलो उपायका रूपमा अभिभावकहरूले डिजिटल ग्याजेट थमाउने चलन बढ्दो छ। तर, प्रविधि प्रयोगको बुझाइमा अभिभावक र बालबालिकाबीच देखिएको दूरीले पारिवारिक आत्मीयता कमजोर पारिरहेको छ। आपसी सम्बन्धमा खाडल बढ्दो छ, र यसको असर उनीहरूको शिक्षादेखि सामाजिक सम्बन्धसम्म देखिन थालेको छ।

यही विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रको हालै सार्वजनिक पोस्टरमा स्कुले पोसाकमा एक बालिका मोबाइल बोकेको देखिन्छ भने पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार छ – जुन पुस्तान्तरणको टकराव र प्रविधिको असरको संकेत जस्तै लाग्छ।

निर्देशक यादवकुमार भट्टराई भन्छन्, “प्रविधि आफैं गलत होइन, तर त्यसको दुरुपयोगले सन्तानको भविष्य, परिवारको सन्तुलन र समाजको संवेदनशीलतामै असर पार्छ।” ‘झोला’ जस्ता गहिरा सामाजिक विषयवस्तु उठाउँदै आएका भट्टराईले ‘झिल्को’ मार्फत यसपटक डिजिटल लतमा फँसेकी एक बालिकाको यात्रा प्रस्तुत गरेका छन्।

उनको भनाइमा यो चलचित्र केवल कथा मात्र होइन, चेतावनी पनि हो – अभिभावक, शिक्षक, नीति निर्माता र समाज सबैले बालबालिकालाई प्रविधिको कुलतबाट जोगाउन गम्भीर ध्यान दिनुपर्ने समय आएको छ।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ। छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर र साउन्ड मिक्सिङ श्याम कुँवर, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।

चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर लेखेका हुन्। कार्यकारी निर्माता उमेश पौडेल छन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य छन्। ‘झिल्को’ जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.