‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’बाट आउटपुट दिने छौं’ कार्यकारी निर्माता खडका


काठमाडौ। सर्वकालीन हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन अन्तिम चरणमा पुगेको छ।

स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा पछिल्लो एक महिनादेखि छायांकन भइरहेको छ। निर्माण टिमका अनुसार अब एक साताभित्र सम्पूर्ण छायांकन सकिनेछ।

नरदेवी फिल्म्सको ब्यानरमा तयार हुँदै गरेको फिल्मको कथा, छायांकन र प्रविधिमा भइरहेको मेहनतले दर्शकलाई सन्तुष्ट बनाउने विश्वास निर्माण पक्षले लिएको छ।

“सेटमै अनलाइन सम्पादन भइरहेको छ,” कार्यकारी निर्माता दिनेश खड्काले भने, “कलाकार र प्राविधिकको समर्पण हेर्दा अपेक्षाभन्दा राम्रो नतिजा आउनेमा ढुक्क छौं।”

निर्देशक पौडेलको ‘पूर्ण बहादुरको सारङ्गी’ले झण्डै ४७ करोड रुपैयाँको व्यापार गर्दै नेपाली बक्स अफिसमा रेकर्ड बनाएको थियो। त्यसैले ‘कोशेढुंगा’प्रति पनि दर्शकको चासो बढेको छ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, सविता रेग्मी, सिर्जना अधिकारी, हिउवाला गौतम, शेखर चापागाईंलगायतको अभिनय रहनेछ।

फिल्मको छायांकन बाबु श्रेष्ठले गरिरहेका छन् भने सम्पादन सुरेन्द्र पौडेलले गर्दै छन्। संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ। निर्माता प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।

फिल्म २०८२ मा प्रदर्शन गर्ने तयारी भए पनि औपचारिक प्रदर्शन मिति तय भएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.