‘नरसिंहाः अवतार’ मा नीति शाहको फस्टलुक सार्वजनिक


काठमाडौ। अगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा उनी मुस्कुराइरहेकी देखिन्छन्। पोस्टर हेर्दा उनी फिल्ममा कसैकी पत्नी वा प्रेमिकाको भूमिकामा देखिने अनुमान गर्न सकिन्छ। तर, कुन पात्रसँग उनको जोडी बाँधिएको हो भन्ने विषय खुलाइएको छैन।

फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको नीति बताउँछिन्। विशेषगरी, अभिनेता राजेश हमालसँग पहिलो पटक स्क्रिन सेयर गर्न पाउँदा आफूले धेरै कुरा सिकेको उनले उल्लेख गरेकी छन्।

दिवाकर भट्टराइको लेखन र निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिब जंग बस्नेत लगायत कलाकारहरूको अभिनय छ।

फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनले लगानी गरेका छन्। छायांकन राजु विक्रम थापाले गरेका हुन् भने, फिल्मको कथा चन्द्र पन्तले लेखेका छन्। एक्सन निर्देशन राजु लामाले, संगीत शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलले तथा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

दर्शकमा फिल्मप्रतिको उत्साह उच्च रहेकोले ‘नरसिंहाः अवतार’ले बक्स अफिसमा राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.