‘अञ्जिला’को पाँचौँ सातामा पनि दर्शकको साथ, व्यापार स्थिर


काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको पाँचौँ सातासम्म आइपुग्दा पनि दर्शकको साथ पाउँदै बक्स अफिसमा स्थिर व्यापार कायम राखेको छ। काठमाडौंसहित देशभरका करिब ५० सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्रमा अधिकांश शोहरूमा सन्तोषजनक दर्शक उपस्थिति देखिएको निर्माण पक्षको दाबी छ।

फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आएका छन्। यद्यपि, तीमध्ये कुनै पनि फिल्मले ‘अञ्जिला’को व्यापारमा उल्लेख्य असर पुर्‍याउन सकेका छैनन्। कथा, निर्देशन र अभिनयको सन्तुलनले फिल्मलाई दर्शकको रोजाइमा टिकाइराख्न सहयोग पुगेको विश्लेषण गरिन्छ।

फिल्म महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। मुख्य भूमिका आफैँ निर्वाह गरेकी एन्जिलाको संघर्ष र सफलताको कथा दर्शकमा भावनात्मक प्रभाव छाड्न सफल भएको निर्देशक मिलन चाम्सको भनाइ छ। “फिल्मको विषयवस्तु धेरै दर्शकको जीवनसँग मेल खाने खालको छ,” उनले भने, “त्यसैले दर्शकको प्रतिक्रिया उत्साहजनक देखिएको छ।”

गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ छोटो समयमा उत्कृष्ट पाँच चलचित्रको सूचीमा समेटिएको छ। प्रदर्शनको पाँचौँ हप्तासम्म आइपुग्दा पनि यसको व्यापारमा उल्लेख्य गिरावट नआएको जनाइएको छ। निर्माण टिमले चलचित्र अझै केही हप्ता प्रदर्शनमा राख्ने तयारी गरिरहेको छ।

चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ र बुद्धि तामाङको अभिनय रहेको छ। नेपाली महिला खेलाडीको जीवनसंघर्षलाई चित्रण गर्ने यो चलचित्रलाई दर्शकले प्रेरणादायी रूपमा लिएको देखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.