‘समर लभ’ अभिनेता आशिष पिया ‘अमिगोस’मार्फत कमब्याक गर्दै


काठमाडौं। उपन्यास ‘समर लभ’ मा आधारित चलचित्रबाट नेपाली सिनेमा डेब्यु गरेका अभिनेता आशिष पिया पुनः ठूलो पर्दामा कमब्याक गर्न लागेका छन्। ‘समर लभ’ रिलिज भएको पाँच वर्षपछि उनी ‘अमिगोस’ मार्फत नेपाली रजतपटमा फर्किन लागेका हुन्।

लभस्टोरी विधामा निर्माण हुने ‘अमिगोस’ को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिने निर्माण पक्षले जनाएको छ।

चलचित्रको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) ले गर्ने छन्। करिब एक दशकपछि नेपाली सिनेमामा फर्किन लागेका बस्नेतले यसअघि ‘सौर्य’ र ‘द्रव्य’ जस्ता फिल्म लेखन तथा निर्देशन गरेका थिए।

बिएस इन्टरनेसनल स्टुडियोको ब्यानरमा विकास आचार्यद्वारा निर्माण हुने यो सिनेमा उनको पहिलो निर्माण प्रयास हुनेछ। सुरेन्द्र रावल सह–निर्माताको रूपमा रहने छन्।

चलचित्रको ७० प्रतिशत छायांकन अष्ट्रेलियामा र ३० प्रतिशत नेपालमा हुने बताइएको छ।

हाल फिल्मका लागि आशिष पियासहित अन्य दुई मुख्य कलाकारको खोजी भइरहेको निर्माण टिमले जनाएको छ। केही दिनमै एक अभिनेता र एक अभिनेत्रीको टुङ्गो लाग्नेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.