सौगात र अनुपबिक्रमको चलचित्र ‘जार’ ट्रेलर सार्वजनिक


काठमाडौं । आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जार’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ छ । निर्माण कम्पनि फेरी टेल पिक्चर्सले बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो ।

यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् । फिल्म सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति फिल्मको ट्रेलरमा चित्रण गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। ‘जार’को कथालाई अन्याय हुन दिएका छैनौं, लामाले भने किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ‘जार’ तयार गरेका छौं ।’

अभिनेताद्वय सौगात र अनुपबिक्रम शाहीले एउटा इतिहासको साक्षी बस्न पाउनु आफैंमा गर्वको कुरा रहेको बताए । फिल्म ‘जार’को शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।

यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । यो फिल्मलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल जोडिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.