‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ घोषणा


काठमाडौं। संविधान दिवसको अवसरमा प्रदर्शन भएको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्म ‘जलाकी’ घोषणा गरेको छ। अशोक थापा मगरको निर्देशनमा बन्ने यो फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै शुक्रबार पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभमुहूर्त गरिएको थियो।
त्रिकोणात्मक प्रेम कथामा आधारित ‘जलाकी’मा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। चर्चित गायक सुशान्त केसीको गीत ‘बार्दली’बाट चर्चामा आएकी आकृति राजभण्डारीका लागि यो डेब्यु फिल्म हो।
फिल्मको नाम मगर समुदायमा आस्थाको प्रतीक मानिने ‘जलाकी’बाट लिइएको हो, जसले ढुंगाले चिनिने स्मारकलाई जनाउँछ। निर्देशक थापाका अनुसार, यो फिल्म तीन चरणमा छायांकन गरिनेछ। छायांकन बागलुङको कालिका भगवती मन्दिरबाट सुरु भइसकेको छ, जसपछि रुकुम, म्याग्दी, पोखरा तथा दक्षिण कोरियामा सुटिङ गरिनेछ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्। फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ भने अन्य कलाकारहरूको छनोट कार्य जारी छ।
शैलेन्द्र डी. काकी फिल्मका डिओपी हुन् भने राजु रेग्मी मगर लाइन प्रोड्युसर र महेश बराल मुख्य सहायक निर्देशकका रूपमा छन्। संगीत एसडी योगी र सरित राईले दिइरहेका छन् भने गीतहरू सुरेन्द्र राना र राम अविरल विष्टले लेखेका छन्। यसअघि निर्देशक थापाको फिल्म ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ युट्युबमा पाँच महिनामा १० करोड भ्युज पाउने पहिलो नेपाली गीत बनेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.