‘अञ्जिला’ चौथो हप्तामा, नेपालमा ‘सिकन्दर’लाई पछि पार्दै


काठमाडौ। फागुन २९ गते फागु पूर्णिमाको अवसरमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ चौथो हप्तामा प्रवेश गरेको छ। दर्शकमाझ लोकप्रिय बन्दै गएको यस चलचित्रले चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो।

‘अञ्जिला’ले नेपालमा बलिउड सुपरस्टार सलमान खान अभिनीत ‘सिकन्दर’लाई समेत पछि पारेको छ। भारतमा राम्रो व्यापार गरिरहेको ‘सिकन्दर’ नेपालमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। हल सञ्चालकहरूका अनुसार नेपाली दर्शकको रोजाइ ‘अञ्जिला’ भएकाले ‘सिकन्दर’का शोहरू खाली भइरहेका छन्।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित ‘अञ्जिला’मा उनले नै प्रमुख भूमिका निर्वाह गरेकी छन्। चलचित्र प्रचारका लागि सुब्बाले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका सहरहरूमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन्।

ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिग क्लब निस एट्रोमिटौबाट खेलिरहेकी एन्जिला हालै चलचित्र प्रचारका लागि नेपाल आएकी हुन्। प्रचार अभियान सकेपछि उनी पुनः ग्रिस फर्किनेछिन्।

चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रलाई दर्शकले रुचाइरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.