चलचित्र नरसिंहा अवतार जेठ ९ मा प्रदर्शनमा आउने


काठमाडौं। नायक राजेश हमालको बहुप्रतिक्षित कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ आगामी वर्षको जेठ ९ गते प्रदर्शन हुने भएको छ। यसअघि चैत्र २९ मा रिलिज हुने भनिएको फिल्मको मिति परिवर्तन गर्दै काठमाडौंको ग्लोबल कलेजमा भव्य समारोहबीच फस्टलुक पोस्टर सार्वजनिक गरियो।

दिवाकर भट्टराई निर्देशित यस फिल्ममार्फत हमाल आठ वर्षपछि नेपाली सिनेमा क्षेत्रमा फर्किंदै छन्। कार्यक्रममा बोल्दै हमालले ३०० भन्दा बढी फिल्ममा काम गरे पनि यति ठूलो पोस्टर पहिलो पटक देखेको अनुभव सुनाए।

फिल्ममा हमालसँगै सरोज खनाल, नीर शाह, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीव जंग बस्नेत, दीपा शाही लगायतका कलाकारको अभिनय रहेको छ।

राजु विक्रम थापाको सिनेमाटोग्राफी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी रहेको छ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूमाझ हमालसँग सम्बन्धित १० प्रश्न सोधिएको थियो। सही उत्तर दिनेहरूलाई फिल्मका कलाकारहरूले उपहार प्रदान गरेका थिए। ग्लोबल कलेजका विद्यार्थीहरूले फिल्मप्रति उत्साह व्यक्त गर्दै ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनले भरिएको रोचक फिल्मको रूपमा व्याख्या गरे।

Copyright © 2012 - 2026 | All Right Reserved.