काठमाडौं। राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शुक्रबार र शनिबार भव्य फेसन शो ‘आईईसी डिजाइनर रनवे’ सम्पन्न भएको छ। यो प्रतिष्ठित कार्यक्रममा एक दर्जनभन्दा बढी चर्चित सेलिब्रेटी तथा ३१ जना व्यवसायिक मोडलहरूले एउटै र्याम्पमा आकर्षक क्याटवाक प्रस्तुत गरेका थिए।
आईईसी कलेजका २०२२ ब्याचका १०२ विद्यार्थी डिजाइनरले तयार पारेका नवीनतम पहिरनहरू २५ सिक्वेन्समा प्रदर्शित गरिएका थिए। फेसन शोमा चर्चित अभिनेत्रीहरू स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका सेलिब्रेटी विशेष आकर्षणका रूपमा प्रस्तुत भए।
भारतका प्रसिद्ध अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको कोरियोग्राफीमा सम्पन्न भएको यो शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको थियो। अन्य फेसन शोहरूसँग तुलना गर्दा यसपटकको शो अझ भव्य र स्तरीय रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले जानकारी दिए।
आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार शोको प्रमुख उद्देश्य नेपाली फेसन डिजाइनलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो। अघिल्लो वर्षहरूमा एक दिनमात्र आयोजना हुँदै आएको यो फेसन शो यसपटक दुई दिनसम्म भव्य रूपमा सम्पन्न गरिएको थियो। आउँदो संस्करणमा २०२३ ब्याचका विद्यार्थी डिजाइनरहरूको कलेक्सनसहित फेसन शो आयोजना गरिने उनले जानकारी दिइन्।