प्रकाश सपुत निर्देशित ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक


काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न स्थानहरू तथा भारतको गोवामा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का रोमान्टिक अवतारमा देखिएका छन्। सिनेमा ‘वसन्त’ चैत्र २२ गतेबाट प्रदर्शनमा आउनेछ।

निर्देशक सपुतका अनुसार ‘हेर्दै आँखामा’ गीतले जात, धर्म र वर्गको भिन्नतालाई उस्तै भावनामा बाँध्ने सन्देश दिन्छ। आइतबार सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य पात्र वसन्तले विभिन्न धर्म तथा संस्कार अनुसार विवाह गरेको देखाइएको छ, जसले सिनेमाको कथावस्तुलाई उजागर गर्ने निर्देशकको धारणा छ। गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको छ भने संगीत संयोजन योगेश काजी शाहले गरेका छन्। प्रकाश सपुतकै शब्द, संगीत तथा निर्देशनमा बनेको गीतलाई सुशन प्रजापतिले छायांकन गरेका हुन्। कोरियोग्राफी केबीका खत्रीले गरेका छन् भने प्रवीन भट्टले सम्पादन गरेका छन्।

‘वसन्त’ सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय छ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सोसल ड्रामा ‘वसन्त’ को कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपना र त्यसका लागि गर्ने संघर्षलाई चित्रण गर्नेछ।

सिनेमाका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन्। सिनेमाको छायांकन बागलुङ, काठमाडौं तथा तराईका विभिन्न स्थानमा गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.