कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ


काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले भने ।

मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अथवा मान्छेले जे भोग्छ र जति भोग्छ त्यो उसको कर्मकै फल हो भन्ने टिजरले देखाएको छ । सौरभले पनि यही नै बताएका छन् । ढिलो चाँडो मात्रै हो, मान्छेले उसले असल कर्म गरे राम्रो खराब कर्म गरे त्यही अुनसार नराम्रो सजाय नै पाउने सौरभ बताउँछन् ।

जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने उनको विश्वास छ । “कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै दिन अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” सौरभको विश्वास छ, “यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।”

आफूसँग नराम्रो गर्ने व्यक्तिलाई उसले राम्रो गर्न नसके त्यसको सजाय अर्को व्यक्तिबाट भए पनि मिल्ने उनको भनाइ छ । “कसैले मसँग नराम्रो गर्यो भने उसलाई मैले नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्छ,” उनले भने ।

चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।