काठमाडौँ। अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो ।
हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।
सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।