काठमाडौं । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ ।
नरेनले एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका हुन् । ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन् ।
अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेन बाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी छ । निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ ।
कल्पना पौडेल प्रस्तुतकर्ता रहने चलचित्र एमजीपी ब्यानरमा निर्माण हुनेछ। चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन् । चलचित्रको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले बताएको छ ।