अनमोलको चलचित्र ‘जेरी अन टप’ को छायांकन सकियो


काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सकिएको छ । मुस्ताङमा अन्तिम दृश्य खिचेर सोमबार कलाकार सहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीत बाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए ।

मुस्ताङसहित सगरमाथा बेसक्याम्प र काठमाडौंमा छायांकन गरिएको सिनेमाको छायांकन नसकिँदै हङकङको एलजी एसोसिएट्सले एमजी (मिनिमम ग्यारेन्टी) मा सिनेमाको अस्ट्रेलिया बाहेकको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार खरिद गरिसकेको छ । विदेश प्रदर्शन अधिकारबाट सिनेमाको आधा लगानी उठिसकेको निर्माता न्यौपानेले बताए । उनका अनुसार कलाकारको पारिश्रमिकदेखि छायांकनसम्म सिनेमाको बजेट लगभग ६ करोड पुगेको छ ।

सिनेमाको प्रदर्शन मिति भने तय भइसकेको छैन । वितरक कम्पनीसँगको सल्लाहमा केही दिनमै सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए । सुयोग गुरुङको निर्देशनमा निर्माण भएको यो लभस्टोरी सिनेमामा अनमोल सहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय छ ।