काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुनेछ । अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । साथै, बेलायतमा यस चलचित्रको उच्च माग रहेको र क्रमशः सबै सहरमा रिलिज गरिने उनले बताए ।
यस वर्षको फागु पूर्णिमाको दिन फागुन २९ गते नेपालमा प्रदर्शन भएको यस चलचित्रले नेपालमा सुपरहिट भएपश्चात् नेपालीहरूको बाहुल्य रहेका विभिन्न मुलुकहरूमा रिलिज हुन लागेको हो । ‘अञ्जिला’ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै उल्लेखनीय व्यापार गरेपछि विदेशबाट माग भएको थियो । विदेश रिलिज मार्च २९ बाट हुने जनाइएको छ ।
अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्नेछन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन् । त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्दैछन् ।
‘अञ्जिला’का निर्देशक मिलन चाम्सले दिनानुदिन शो सङ्ख्यासँगै दर्शक पनि बढिरहेको बताए । “यो माया र विश्वासले ऊर्जा थपेको छ । फिल्म हेर्ने ८३ वर्षसम्मको आमा देखेको छु । उहाँहरू फिल्म हेरेर निस्किदा खुसी भएको देख्दा सन्तुष्टि मिलेको छ, दर्शक हलसम्म ल्याएर खुसी बनाएर फिर्ता पठाउन पाउँदाको क्षणलाई शब्दमा व्यक्त गर्न सक्दिन,” उनले भने ।
‘अञ्जिला’लाई लिएर दर्शक तथा समीक्षकहरूले चलचित्रको कथा, प्रस्तुति, अभिनय, र निर्देशनलाई निकै सराहना गरिरहेका छन् । चलचित्र ‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ ।
मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्रलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।