‘वसन्त-साँझ’ मा प्रकाश,शान्तिश्री, प्रीति र देवेन्द्रले प्रस्तुती दिने


काठमाडौँ। आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’ को अफिसियल ट्रेलर आगामी शनिबार सार्वजनिक गर्ने तयारी भैरहेको छ । काठमाडौंमा ‘वसन्त-साँझ’को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ ।

चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडी आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लुले प्रस्तुती दिनेछन् । सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन् ।

गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।