काठमाडौं । चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिवेला प्रचार प्रसारमा व्यस्त छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ ।
सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल अहिले विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकलाई सिनेमाको बारेमा जानकारी दिन लागि परेका छन् । उनीहरु ‘११ः५५’ क्राइम थ्रिलर जनरामा निर्माण भएको एउटा सुन्दर सिनेमाको रुपमा दर्शकलाई आकर्षित गरिरहेका छन् ।
यो सिनेमाबाट अभिनेता सागर खनालले समेत नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आफुलाई डेव्युको प्रेसर नलिएको उनले बताए । ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिए । सिनेमा डेव्यु तयारीको लागि समय पनि लिए । झ्वाट्टै आइहालेको पनि होइन । कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर नै आएकाले पनि आफुले डेव्युको प्रेसर नलिएको हुँ,’ अभिनेता डेव्यु खनालले भने ।
सिनेमाकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफुले हरेक सिनेमामा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’को भूमिकालाई पनि रुचाइनेमा आशावादी देखिइन् । उनी यो सिनेमा एक विवाहित महिलाको भूमिकामा देखिएकी छन् । यो सिनेमा थ्रिलर जनरामा निर्माण भएकाले पनि आफु काम गर्न तयार भएको बताइन् । यो उनको मनपर्ने जनरा समेत रहेको खुलाइन् । यो सिनेमाको कथा एक दिन रातको ‘११ः५५’मा घटेको घटनाको वरिपरि घुम्ने उनले जानकारी दिइन् ।
सिनेमाकी अर्की मुख्य अभिनेत्री करिष्मा श्रेष्ठले सिनेमामा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताएकी छन् । ‘सिनेमामा मेरो ‘ग्रे’ क्यारेक्टर छ । मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ । यस्तो क्यारेक्टर गर्छु भनेर मैले सोचेको पनि थिइनँ । त्यो क्यारेक्टर निभाउन निकै चुनौती भयो । मलाई चुनौती मन पनि पर्छ । मेरो क्यारेक्टर दर्शकमा नोटिस हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
सिनेमाले ११ः५५ बजे भएको ‘मर्डर’मा सिनेमाको कथा केन्द्रित छ । ‘११ः५५ बजे एउटा मर्डर हुन्छ । सिनेमाको कथा नै त्यसैको वरिपरि घुमेको छ । सिनेमामा फरक-फरक क्यारेक्टर छन् र हरेकले आफ्नै हिसाबले जीवन बाँचेका छन् । त्यही बीचमा अचानक एउटा हत्या हुन्छ र त्यसमा सबैजना संलग्न भएका हुन्छन् । अनि त्यसैको अनुसन्धानमा सिनेमा घुम्छ । प्रत्येक १५ मिनेटमा ट्विस्ट आउँछ । जसले दर्शकमा सिनेमाप्रति उत्सुकता जगाउन सक्छ,’ उनी भन्छिन् ।
सिनेमाका मुख्य अभिनेता महेश त्रिपाठी पनि सिनेमालाई लिएर उत्साहित देखिन्छन् । नेपालमा कमै मात्र बन्ने जनरा क्राइम थ्रिलरमा सिनेमा निर्माण भएकाले पनि आफु काम गर्न तयार भएको थिए । यो सँगै सिनेमा यस्को मुख्य भूमिका उस्को सहायक भूमिका भन्ने नै छैन् । सिनेमामा काम गरेका सवै कलाकार नै मुख्य भूमिकामा भएकाले काम गर्न निकै मज्जा आएको उनको अनुभव छ । जसरी हामीले छायांकन सेटमा काम गरेका थियौं । त्यसरी नै हलमा सिनेमा हेर्न पनि मज्जजा आउने विश्वास उनको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।