थ्रिलर र सस्पेन्सको अनौठो मिश्रण ‘खेल’ को नयाँ पोस्टर सार्वजनिक


काठमाडौं। आगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘खेल’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। यो पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन्।

पोस्टरमा रहस्य र डरको सन्देश दिनको लागि गाढा निलो र कालो रंगको मिश्रण गरिएको छ। पोस्टरको प्रमुख आकर्षण भनेको स्कुले विद्यार्थीहरूको दृश्य र पृष्ठभूमिमा रहेको रहस्यमय वातावरणमा कुम्लिएका आँखाहरूको डरलाग्दो छायाँ हो। चन्द्रमाको चित्र पनि पोस्टरमा समावेश गरिएको छ, जुन चलचित्रको गहिरो कथासँग जोडिएको संकेत हो। पोस्टरमा सुरक्षा पन्तको प्रमुख पात्रको चित्रण गरिएको छ, जसले हेडफोन लगाएर चलचित्रका मुख्य पात्रको रुपमा देखाउँछ।

‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले मिलेर निर्देशन गरेका छन्। चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको अनौठो मिश्रणमा आधारित छ। यस चलचित्रमा चार जना साथीहरूको कथा प्रस्तुत गरिन्छ, जसले काठमाडौंको होस्टेलमा बस्दै आफ्नै विगतका डरावनु घटनाहरूसँग सामना गरिरहेका छन्। यस चलचित्रमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ।

यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन्, भने सह-निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन्। चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन्, जबकि पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार गरेका छन्। संवाद विष्णु गैरेले लेखेका छन्।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्। ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला र मेकअप दिपु पौडेलले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.