चलचित्र ‘अन्जिला’ हेर्न दर्शकहरूको उत्साहजनक उपस्थिति


काठमाडौँ। आज शनिबार दिउँसो काठमाडौँको अष्टनारायण हलमा चलचित्र ‘अन्जिला’ को विशेष प्रदर्शन गरिएको थियो। हजार भन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा चलचित्र युनिटले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको थियो।

हलमा प्रवेश गर्ने दर्शकहरूलाई ‘अन्जिला’ को जर्सी उपहारस्वरूप प्रदान गरिएको थियो। दर्शकहरूको उत्साहलाई थप बढाउन चलचित्रका निर्देशक मिलन चाम्स, कलाकार सुमिन गुरुङ, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, गायक तथा संगीतकार थानेश्वर गौतम र गीतकार प्रभा बर्तौला हलमा पुगेका थिए।

चलचित्र हेरिसकेपछि दर्शकहरूले ‘अन्जिला’को पक्षमा नाराबाजी गर्दै चलचित्रको प्रशंसा गरेका थिए। दर्शकहरूले चलचित्रले नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलतालाई जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

चलचित्र ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको यो चलचित्र हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।

यो चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले स्वतन्त्र समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । सोसल मिडियाहरूमा चलचित्रका बारेमा आएका समीक्षाहरू सबै सकारात्मक छन् भने, उनीहरूले ‘अञ्जिला’ले नेपाली चलचित्र उद्योगमा नयाँ रेकर्ड राख्न सक्ने सम्भावना जताएका छन् । यस चलचित्रको कथा, निर्देशन, अभिनय र गीत-संगीतलाई व्यापक प्रशंसा मिलिरहेको छ ।

चलचित्रको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ । निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए । “चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु । ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको भए पनि शनिवारको बम्पर व्यापारले उत्साहित बनाएको छ । चलचित्र हेरेर दर्शकहरू भावुक भएका छन्, र यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ,” निर्देशक चाम्सले भने ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।