नेपाली चलचित्रमा भाषा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ। चलचित्र विकास बोर्डको संयोजनमा नेपाल पर्यटन बोर्डको हलमा शुक्रबार ‘चलचित्र उत्सव’ सम्पन्न भएको छ। हिमवत्‌ खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन अन्तर्गत आयोजना गरिएको उक्त उत्सवमा नेपाली चलचित्रमा भाषा सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा चर्चित नेपाली उपन्यास ‘बसाइँ’ मा आधारित चलचित्र ‘बसाइँ’ को विशेष प्रदर्शन गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा आयोजित चलचित्रमा भाषा विषयक अन्तरक्रियामा चलचित्रमा प्रयोग गरिने भाषा तथा चलचित्रले भाषाको विकासमा खेल्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। डा. घनश्याम खतिवडाको सहजीकरणमा भएको कार्यक्रममा बरिष्ठ कलाकार हरिहर शर्मा, डा. रमेश भट्टराई र डा. बिन्दु शर्माले आ-आफ्नो धारणा राखेका थिए । यस कार्यक्रमले नेपाली चलचित्रमा भाषाको विविधता, प्रभाव, र त्यसको सांस्कृतिक सन्दर्भबारे गहिरो विश्लेषण प्रस्तुत गरेको थियो।

दोस्रो चरणमा लिलबहादुर क्षेत्रीको चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित चलचित्र ‘बसाइँ’ प्रदर्शन गरियो। उक्त चलचित्रले नेपाली समाजको ऐतिहासिक बसाइँ सराइको कथा बोकेको छ ।

चलचित्र विकास बोर्डले उक्त उत्सवले नेपाली चलचित्रको भाषा, साहित्य, र सांस्कृतिक प्रभावलाई थप उजागर गर्ने विश्वास व्यक्त गरेको छ। साथै, हिमवत्‌खण्ड क्षेत्रका मुलुकहरूसँग नेपाली चलचित्रको सम्पर्क विस्तार गर्ने अवसरका रूपमा पनि यसलाई हेरिएको छ।

हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन तीन दिनसम्म चल्नेछ, जसमा नेपालसहित भारत, चीन, बंगलादेश, म्यानमार, भुटान, र थाइल्यान्डका प्रतिनिधिहरूले भाग लिनेछन्।

कार्यक्रमलाई हिमवत्‌खण्ड क्षेत्रका भाषा, संस्कृति, सभ्यता तथा परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान-प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले आयोजना गरेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.