‘अञ्जिला’ को मन छुने गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक


काठमाडौं। बिहीबारदेखि प्रदर्शनमा आई चर्चा र प्रशंसा पाइरहेको चलचित्र ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ ।

यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ । यस गीतको संक्षिप्त अंश चलचित्रमा समेत सुन्न सकिन्छ । चलचित्रका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्नको लागि दर्शकबाट माग आएपछि सार्वजनिक गरिएको बताए ।

फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज ‘अञ्जिला’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

अहिले सोसल मिडियामा ‘अञ्जिला’को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.