प्रिमियरमा रुचाइएको चलचित्र ‘अञ्जिला’ अग्रिम बुकिङ खुला


काठमाडौं। होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् ।

बुधवार बिहानसम्म ११० बढी शो प्राप्त गरेको ‘अञ्जिला’ साँझसम्ममा केही शो बढ्ने अनुमान गरेको निर्देशक मिलन चाम्सले बताए । “प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ,” निर्देशक चाम्सले भने, “शो सङ्ख्या भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो ।” ‘अञ्जिला’लाई मल्टिप्लेक्सहरूमा मात्र होइन, सिङ्गल स्क्रिन हलहरूबाट पनि राम्रो शो प्राप्त भएको उनले बताए । रिलिजको दिन फागु पूर्णिमा परेको कारण दिउसोदेखि मात्र अधिकांश हल चल्ने भएकाले शुक्रवारदेखि शो सङ्ख्या उच्च हुने उनले बताए ।

चलचित्रमा एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् भने अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन्। चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो।

निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एञ्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।

चलचित्रको हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान र नेपालमा धरान र काठमाडौंमा प्रिमियर गरिएको थियो । हलमा प्रदर्शनअघि नै प्रिमियर शो हरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा हेर्ने दर्शकहरूबाट पनि उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.