काठमाडौँ । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’ को काठमाडौँमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।सोमवार ललितपुरको लविम मलमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायत, धरान र काठमाडौँमा गरिएको प्रिमियरले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ ।
चलचित्र हेरेपछि दर्शकहरू भावुक बनेका थिए । चलचित्र हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ । दर्शकले चलचित्रको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।
चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।