कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुभारम्भ


काठमाडौँ। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णालीमा हुनेछ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती शाही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा चलचित्र लेखक विकास सुवेदी उपस्थित थिए।

महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक चलचित्रको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरियो।

त्यस्तै, उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रधुम्न पोखरेल, कलाकार, चलचित्रकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

महोत्सवअन्तर्गत भोली गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ कार्यक्रम आयोजना गरिँदैछ। यस संवादमा कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना, र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफल गरिनेछ।

महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकन स्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य, र सांस्कृतिक धरोहरलाई नेपाली चलचित्रमा समेट्न विशेष पहल गरिने आयोजकको दाबी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.