‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण सुरु


काठमाडौँ। पहलमानसिंह स्वाँर साहित्य विशेष ‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण शनिबारबाट सुरु भएको छ। टीकापुरका माननीय सामाजिक विकास मन्त्री युवराज खड्काको प्रमुख आतिथ्यमा महोत्सव विभिन्न विज्ञहरूको स्वागत मन्तव्यबाट सुरु भयो।

मन्तव्यका क्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियान भएको बताए।

प्राध्यापक अभि सुवेदीले भने, “टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सृजनात्मक शक्ति आर्जन गर्ने प्रयास हो।”

महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले अहिले देशभर साहित्य महोत्सव भइरहेको र यसले देशभर साहित्यको ग्ल्यामर बढाएको विचार व्यक्त गरे। द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकोले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको बताए। साहित्यमार्फत सामाजिक सद्भावको नारा बोकेको महोत्सवको उद्घाटन सत्रमा उनले भने, “बिस्तारै टीकापुरको चेतना जागृत होला।”

महोत्सवमा २१ बहस सत्र रहनेछन्। जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह आदिले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्नेछन्।

त्यसैगरी लेखकहरू विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचारविमर्श तथा विश्लेषण गर्नेछन्। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, ब्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मरराज जोशी र धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।

मीन भाम, दीया मास्के, केकी अधिकारी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, घिमिरे युवराज, शुशीला तामाङलगायतले सिनेमा, नाटक र कलाका विविध विषयमा छलफल गर्नेछन्। महोत्सव फागुन २४ देखि २६ गते जारी रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.