‘बलिदान’ को प्रमुख नारी पात्र ‘किरण’को लुक सार्वजनिक


काठमाडौं। आगामी वडा दसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गरेकी छन् ।

पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको सङ्घर्ष, हिंसा, प्रतिरोध, र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’मा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए, जुन वर्गलाई उनले यस चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।

“राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’ (चलचित्रको कथामा प्रयुक्त साङ्केतिक नाम)को बसोबास रहेको ‘भिल्लमगढ’ (काल्पनिक नाम)मा महिला माथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको चलचित्र ‘बलिदान’ का लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’ को चरित्रलाई सशक्त रूपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो,” निर्देशक सेनले भने, “यस भूमिकाका लागि उपयुक्त हाउभाउ, रुपरङ् र प्रभावशाली अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिसनको आह्वान गरिएको थियो । हाम्रो कल्पनाको ‘किरण’, जसको आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यस भूमिकाका लागि छनौट गरेका थियौँ ।”

चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.