काठमाडौं । भर्सटाइल अभिनेता विपीन कार्की हरेक सिनेमामा फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । यही नै उनको विशेषता हो । विपीन जे हुन्, त्यो क्यारेक्टरमा उनी कमै देखिन्छन् ।
चलचित्र ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन् । जुन यसअघि सार्वजनिक भएका दुईवटा पोस्टरले पनि पुष्टि गर्छ । जहाँ उनी ब्ल्याक ड्रेस र सट गनमा देखिएका थिए ।
सेटबाट बाहिर आएको तस्बिरमा पनि उनी हेन्डसम व्याएका रूपमा देखिएका छन् । जसमा उनी फिट एन्ड फाइन देखिएका छन् । यस्तो लुक्स र चरित्रमा उनी कमै मात्र देखिएका छन् ।
यो क्यारेक्टरका लागि उनले लामो समय जिम गरेका थिए । जसका कारण उनी यो सिनेमामा फिट एन्ड फाइन देखिनेछन् । ‘कर्मा’मा उनी एक्सन हिरोको रुपमा देखिने भएका छन् । जिम गएर उनले गरेको मेहनत, सार्वजनिक पोस्टर र सेटबाट आएको तस्बिरले उनी केही फरक रूपमा देखिन लागेको प्रष्ट हुन्छ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्दैछन् । सौरभ कलाकारलाई चरित्रमा राम्रो मेहनत गराउने निर्देशक हुन् ।
‘अगस्त्य’मा सौगात मल्लको चरित्र निर्माण हेरेर पनि सौरभ आफ्नो सिनेमामा चरित्र निर्माणमा कम्प्रमाइज नगर्ने निर्देशक हुन् भन्ने प्रष्ट हुन्छ । ‘अगस्त्य’मा सौगातको चरित्रको धेरैले तारिफ गरेका थिए । त्यस्तै ‘कर्मा’मा विपीनको लुक्स देख्न सकिने अनुमान लगाउन सकिन्छ ।
आफूले सिनेमाको कथाले मागेको चरित्र निर्माणमा कलाकारलाई पर्याप्त समय दिएर काम लिन कुनै कसर नराखेको निर्देशक सौरभले बताए । उनले भने, “हामीले विपीनलाई कथा अनुसार तयार पारेका छौँ । उहाँले पनि त्यस्तै कडा मेहनत गर्नुभएको छ । जुन टिजरमा अब केही समयपछि दर्शकले देख्नुहुनेछ ।”
‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।