दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त संगै छायाँकन सुरु


काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु गरेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारको पनि अभिनय रहनेछ । ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहने छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन् । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।