काठमाडौं। आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ ।
काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो । एन्जिला नै यस चलचित्रकी प्रमुख कलाकार हुन् । कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रमा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको जुन कुरा निकै गाह्रो भएको बताए । चाम्सले गैर कलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको जनाउँदै अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए ।
चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यो चलचित्रमा कथा फुटबलभन्दा पनि एञ्जिलाको कथा मुख्य रहेको बताए । अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको ठुलो फ्यान रहेको जनाए । “कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,” राईले भने ।
कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरू रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । “म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ । पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृदयदेखि नै आभारी छु । मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग फिल्म खेल्छु भनेर । उहाँ जस्तोसुकै अवस्थामा पनि खेलमा समर्पित हुनुहुन्थ्यो,” एन्जिलाले भनिन् । उनले आफू काठमाडौं आएदेखि गड फादर बनेर बाटो देखाउने प्रेम कुमार श्रेष्ठलाई धन्यवाद दिँदै भनिन्, “म आज जुन बाटोमा छु उहाँले गर्दा नै छु । मेरो मात्र नभएर अन्य खेलाडीहरूको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ ।” एन्जिलाले आफू १३ वर्ष हुँदा पनि ६० किलोको चामलको भारी बोक्ने गरेको बताउँदै छायाङ्कनमा खासै अप्ठ्यारो नलागेको जनाइन् ।
चलचित्रमा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।