आफूलाई ‘मैं हूँ’ ठान्ने सुपुष्पा !


काठमाडौं । फिल्म ‘रणवीर’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री सुपुष्पा भट्ट फिल्म ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि दर्शकमाझ आउँदैछिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनको होम प्रोडक्सन हो। फिल्मका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्।

फिल्ममा ‘फिलिली गर्ल’का रुपमा दर्शकमाझ आउन पाउँदाको अनुभव उनलाई बेग्लै छ । ‘सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो फिल्ममा काम गर्न पाएँ भनेर खुशी भएँ,’ उनले भनिन् ।

निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि। यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन्। यो फिल्मको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो फिल्मको चुनौती सामना गर्ने चुनौती छ।

सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ। ‘मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’ उनी भन्छिन् । सुपुष्पालाई अर्को फिल्ममा समय दिएकाले पनि ‘फेरि रेशम फिलिली’लाई चाहिने जति समय नदिएको हो कि भन्ने बोध हुँदो रहेछ । ‘अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ,’ उनी भन्छिन् ।

फिल्म फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ । फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।

सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह निर्मातामा एनि थापा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.