दर्शकको प्रतिक्षामा ‘लाज शरणम्’


काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ पछाडि नेपाली चलचित्रले बक्सअफिसमा ठूलो व्यापार गर्न सकेका छैनन् । यद्यपि थुप्रै चलचित्र रिलिज भए पनि व्यापारको हिसाबले बक्सअफिसमा विशेष उत्साह देखिएको छैन ।

कुनै पनि जनरा, कलाकार वा निर्देशकको चलचित्र भए पनि बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको छैन । मंसिर, पुस र माघको जाडोसँगै नेपाली चलचित्रको बक्सअफिसमा सुस्ती आएको छ । गत वैशाखदेखि चलचित्र नगरीमा देखिएको उत्साह अब थामिएको छ । यो मन्दीलाई कुन चलचित्रले फेरि तताउने हो भन्ने कुरा अहिले भन्न सकिँदैन, किनकि सिनेमाको व्यापार भविष्यसँग जोडिएको कुरा हो ।

तर, हालसम्म रिलिज भएका कन्टेनहरूको टिजर र गीतमा देखिएको उत्साह र दर्शकको चासोले सुस्ताएको बजारलाई ‘लाज शरणम्’ले पुनः प्रफुल्लित बनाउन सक्छ भन्ने आशा गर्न सकिन्छ । चलचित्रको प्रचार र काठमाडौंका मेयर बालेन शाहले गाएको गीत, र प्रोडक्सन भ्यालुले यसको बजारमा पुनः उत्साह ल्याउने सम्भावना देखिन्छ ।

कलाकारहरू सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’ जस्ता कलाकारको उपस्थिति यो चलचित्रलाई दर्शकको मनमा लोकप्रिय बनाउन सक्छ ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमको निर्माण हो । यस चलचित्रका लेखक, कलाकार र निर्देशक सबै ‘सक्किगोनि’ टिमका सदस्य छन् । मुख्य भूमिकामा सिताराम कट्टेल छन् र यस चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

चलचित्रमा प्रियना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ र माला लिम्बू जस्ता कलाकारहरूको अभिनय रहेको यो चलचित्र जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको हो । नवीन श्रेष्ठ निर्माता हुन्, जबकि राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा कार्यरत छन् । यो चलचित्र महाशिवरात्रिको अवसरमा, फागुन १४ गते रिलिज हुनेछ ।