आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै गाह्रो भो : अंकित


काठमाडौँ। आगामी शुक्रबार अर्थात् फागुन ९ गते महाशिवरात्रीको छेको पारेर सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको जुनिम गहतराज निर्देशित सिनेमाले एक नवविवाहित जोडीको कथा उठाएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावलाई देखाइएको छ । यो सिनेमालाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ ।

सिनेमाका मुख्य कलाकार मध्यका एक अंकित खड्काले ‘ताण्डवम्’ सबैलाई मनपर्ने सिनेमा बनेको बताए । उनले सिनेमा ‘ताण्डवम्’को कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको बताउँछन् । ‘सिनेमाको कथावस्तु लगायतका कुराहरु मन परेर नै काम गरेको हुँ । ‘ताण्डवम्’ सबैलाई मनपर्ने सिनेमा बनेको छ । यसमा मेरो क्यारेक्टरको नाम ‘घैटे’हो । जसले आमाको माया त्यति राम्रोसँग पाएको हुँदैन । उसमा आमाप्रतिको सोच फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ?, उसको व्यवहार कस्तो हुन्छ ?, उसले कस्ता कुराहरु बोकेर हिड्छ ?, उसलाई चाँही आमाजस्तो देखिनेहरुसँग किन समस्या छ ? आमाको महत्वमा पनि सिनेमाको कथा बगेको छ,’ उनले भने ।

अंकितले सिनेमाको यो क्यारेक्टर निर्वाह गर्दा आफूलाई निकै गाह्रो समेत भएको अनुभव सुनाए । यो सिनेमाको सुटिङकै बेला नै आमाको निधन भएकाले पनि आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नु परेको उनको अनुभव छ ।

‘मलाई धरै नै गाह्रो भयो । फिल्म सुटिङकै बेला मेरो आमा पनि बित्नु भएको थियो । आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने ? आमा शब्दलाई गाली गर्नै मन थिएन । आमा भन्ने शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने? तर मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो यसमा अलि मलाई असहज त लागेको थियो ।’

कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म भएकाले म यो क्यारेक्टर गर्छु त्यो गर्दिन भन्न नहुँने उनको बुझाई छ । सिनेमामा सबै नयाँ टिमको काम नै दर्शकले स्मरण गर्ने खालको छ । उनले नयाँ टिमसँग काम गर्न पाउँदा नयाँ जोश चल्नुका साथै नयाँ कुरा सिक्न र नजिक हुन पाइने भएकाले त्यो नै आफ्नो लागि राम्रो पक्ष हुने बताए ।

‘कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म हो । प्रत्येक सिनेमाहरुमा केही न केही नयाँ हुन्छ । यो सिनेमामा पनि दर्शकले स्मरण गर्ने धेरै चिजहरु छन् । नयाँ टिमसँग काम गर्न पाउँदा धेरै त्यस्ता सम्झिने पलहरु छन् । निर्देशक नयाँ हुनुहुन्छ, दुई चार जना बाहेक सबै नयाँ छन् । नयाँ जोश जाँगरका साथ सिनेमा तयार भएको छ । सिनेमा लभस्टोरी, एक्सन थ्रीलर हो, साथीको कथा र मायाप्रेम पनि यसमा छ,’ उनले भने,‘लोकल ठाउँको लोकल र मध्यम वर्गिय परिवारको कथा यसमा छ ।’