सिनेमा ‘११:५५’ को लभ, रोमान्स, धोका र बदला मिश्रित रहस्यपूर्ण टिजर सार्वजनिक


काठमाडौँ। आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सिनेमाको आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ ।

सिनेमाको निर्माण टिमले टिजरको सुरुवातमा नै सावधान भन्दै सुचना राखेको छ । जसमा लेखिएको छ, ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मनपर्छ ।’

सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।