काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मको थिम पोस्टर शुक्रबार सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा फिल्मले ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ ।
निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने बताए । ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, निर्देशक बस्नेतले भने ।
फिल्ममा डम्बरबहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने फिल्मका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।