गायक ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा


काठमाडौं। गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।

नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो सम्बन्ध छ । उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र आशीर्वाद मा अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन् ।

ढकालले लेखेका छन्, “समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ ! अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । तर, यस पटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदै छु।” सङ्गीतलाई जीवन मानेका ढकालले चलचित्र ‘मालती मङ्गले’ उनका लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै भनेका छन्, “यो चलचित्रले मेरा सपनाहरूको एउटा ठुलो हिस्साको प्रतिनिधित्व गर्छ । म सबै दर्शक, चलचित्र प्रेमी, शुभचिन्तक र सङ्गी-साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु ।”

यो चलचित्र रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.