रंगी’ मा संघर्षशील बाबुको भूमिकामा सलोन


काठमाडौं । फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत फिल्म निर्माणमा होमिएका सलोन फिल्ममा बाबुको भूमिकामा छन् ।

सलोनका अनुसार फिल्ममा दर्शकले उनलाई एक संघर्षशील बाबुको भूमिकामा हेर्न पाउनेछन् । ‘फिल्ममा म फूड डेलिभरी गर्ने पात्रको भूमिकामा छु । आफ्नी छोरीको पालनपोषण, शिक्षादिक्षा, हेरचाहमा बाबुले कति धेरै संघर्ष गर्नुपर्छ भन्ने कथा फिल्ममा हेर्न पाउनुहुनेछ’, सलोन भन्छन् ।

सलोनले फूड डेलिभरी गर्ने एक व्यक्ति दुर्घटनामा परेपछिको भिडियो सामाजिक सञ्जालमा देखेपछि त्यही कथामा फिल्म देखाउन आफू प्रेरित भएको खुलाए । ‘फुड डेलिभरी गर्ने एक व्यक्तिलाई सायद बसले ठक्कर दिएको थियो होला । त्यो भिडियो फेसबुकमा भेटें । भिडियोमा उसलाई हेर्नेको भीड थियो । भीड भित्रकै मानिसले उक्त व्यक्तिलाई त्यही बसमा राखेर अस्पतालमा लैजान भनिरहेका थिए । तर फुड डेलिभरी गर्नेले ‘मेरो डेलिभरी यही ५ मिनेट पर छ । म पहिला डेलिभरी गरेर आउँछु । अनि त्यसपछि जाउँला नि’ भन्नुभयो । त्यो कुरा मेरो मनमा छोएको चिज हो । उहाँले आफ्नो ज्यान भन्दा पनि कामलाई प्राथमिकता दिनुभएको थियो । त्यो भिडियो हेरेपछि मैले निर्देशक सुरेश न्यौपानेसँग फिल्म बनाउने कुरा गरें’, सलोन सम्झन्छन् ।

सलोन आम मानिसले हरेक दिन देखेर पनि ‘इग्नोर’ गरिरहेको कथालाई ‘रंगी’मार्फत ल्याएको दाबी गर्छन् । ‘बाटोमा हरेक दिन फूड डेभिलरी गर्ने व्यक्तिहरु देखिरहेका हुन्छौं । तर हामी वास्ता गर्दैनौं । उनीहरु भित्र पनि केही कथा होला नि भनेर हामीले त्यसैमा फिल्म बनायौं,’ उनले भने ।

छोरी सान्भिका जन्मिएपछि आफ्नो जीवनमा केही परिवर्तन आएको सलोनको अनुभव रहेछ । ‘छोरी जन्मिएपछि अब चाहिँ केही फरक गर्नुपर्छ । एक स्टेप भए पनि अगाडि बढ्नुपर्छ भन्ने फिल्म भयो । सधैं अभिनयबाटै कति अगाडि बढ्ने भने फिल्म निर्माणमा हात हालें । आफ्नो र छोरीको भविष्यकै लागि भए पनि फिल्म बनाउनुपर्छ भन्ने सोच आयो’, सलोन भन्छन्, ‘मलाई कन्टेन्ट बेसको कथाका फिल्म मनपर्छ । मैले गर्न चाहेको क्यारेक्टर रंगीमा छ । कन्टेन्टसँगै समाजलाई सन्देश पनि पुगोस् भन्ने मेरो चाहना हो ।’

छोरी जन्मिएपछि चरित्रको गहिराईमा पुग्न आफूलाई सजिलो भएको सलोनको बुझाई छ । ‘म रियल लाइफमा त्यही कुरा फिल गरिहेको थिएँ । जुन मेरो क्यारेक्टरले फिल्ममा फिल गर्छ । मलाई आयुषी र नम्रताले क्यारेक्टर स्थापित गर्न उत्तिकै सहयोग गरे’, सलोन भन्छन् ।

सलोनले फिल्मका लागि चाहिने प्रमुख बाल कलाकार नपाएपछि सुटिङ नै सार्नु परेको खुलाए । ‘हामीले धेरै बालिका खोज्यौं । सुहाउँदिलो क्योक्टर नभेटेपछि सुटिङ नै सार्नुपर्यो । अनि सञ्जोग रसाइलीले आयुषीको नाम लिएपछि हामीले उसले काम गरिरहेको फिल्मको सेटमा पुगेर उसको प्रस्तुती हेर्यौं । उसको काम राम्रो लागे पछि उसको ममीसँग कुरा गरेर फाइनल गर्यौं’, सलोन भन्छन् ।

सलोन ‘रंगी’बाट समाजलाई प्रतिनिधित्व गर्न खोजेको बताउँछन् । ‘बाबाको इमोसन नदेखिने इमोसन हो । मेरो बाबाले कहिल्यै मलाई इमोसन देखाउनुभएन । बाबा बलियो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । एउटा बाबुले ऊ एक्लो हुँदा कस्तो अनुभव गर्छ, उसले कसैलाई केही देखाउन पाएको छैन । मैले सक्दिन अब भनेर भन्न पाएको छैन । समाजले तैले गर्नुपर्छ भनिरहेको छ । त्यो कति गाह्रो हुन्छ होला भनेर रंगीको न्यारेसन यसमा छ । समाजले राम्रो हुँदा र नहुँदा कसरी हेर्छ भन्ने कथा हो,’ सलोनको भनाइ छ ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।